६१ किलो सुन प्रकरणमा क्यासिनो वाल्डोका सञ्चालकसँग जाँचबुझ आयोगले लियो बयान



काठमाडौं । त्रिभुवन विमानस्थलबाहिर करिब ६१ किलो सुन समातिएको तीन महिनापछि सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले समय सकिन लाग्दा ठमेलस्थित क्यासिनो वाल्डोका सञ्चालकसँग बयान लिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तयार पारेको प्रतिवेदनको आधारमा छायाँ सेन्टरमा रहेको क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक फ्लोरेन्ससहित चार जनासँग बयान लिएको हो। सोमबार दिउसो गृहमन्त्रालयको पुरानो भवनमा रहेको आयोगको कार्यालयमै ती घण्टा बयान लिइएको हो।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर बाहिरिएको ६१ किलो सुन तस्करी प्रकरणका चिनियाँ अभियुक्तको सम्बन्ध क्यासिनो वाल्डोसँग जोडिएको थियो। मुख्य आरोपी याओ पुचिङ नियमित रुपमा यो क्यासिनो जाने र हुण्डी कारोबार गर्ने गरेको भेटिएको थियो। सीआईबीले यसअघि गरेको अनुसन्धानका क्रममा अधिकृतहरुले क्यासिनाको सीसी टीभी फुटेज पनि बरामद गरेको थियो। त्यसक्रममा सुन प्रकरणका चिनियाँ आरोपीहरु क्यासिनोमा पुगेको फुटेजमा देखिएको थियो। क्यासिनोको सञ्चालकले सुन प्रकरणका आरोपी त्यहाँ गएपनि कारोबारबारे जानकारी नभएको बताएको स्रोतको दाबी छ।

विदेशबाट इलेक्ट्रिक सिगरेट (भेप)मा तथा २ साउनमा ब्रेक सुमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुनलगायत पटक–पटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रूपमा नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक–पटकको सुन तस्करी सम्बन्धमा नेपाल सरकारका विभिन्न निकायबाट भएका छानबिन अनुसन्धानसमेतको अध्ययन गरी तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र सो कार्यमा संलग्न व्यक्तिका सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने देखिएमा थप छानबिन अनुसन्धान गरी कानुनबमोजिम कारबाहीका लागि सिफारिस गर्न आयोगको कार्यादेश रहेकाले आयोगले सोही मुताविक काम गरिरहेको छ ।

अनुसन्धानकै क्रममा आयोगले माओवादी नेता एवं पूर्व सभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुल महरा, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन, चुडामणी उप्रेति गोरे लगायत करिब ३ सय मानिसहरुसँग बयान लिइसकेको छ। आयोगका अध्यक्ष डिल्लीराज आचार्यले अहिले अनुसन्धान अन्तिक चरणमा पुगेको बताउदै केही शंकित मानिसहरुलाई सोधपुछ गर्ने क्रम जारी रहेको बताए। आयोगका अध्यक्ष आचार्यले सुनको अवैध तस्करीका विषयमा यसअघि भएका अनुसन्धान लगायतका सन्दर्भ सामग्रीहरुको अध्ययन भैरहेको बताए ।

गृह मन्त्रालयअन्तर्गत भएका अनुसन्धान र छानबिन, संसदीय समितिले गरेका अध्ययन र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धान प्रतिवेदन पनि जाँचबुझ आयोगले अध्ययन गरिरहेको अध्यक्ष आचार्यको भनाई छ। ‘सुनको अवैध तस्करीलाई सकेसम्म निमिट्यान्न पार्न कसरी सकिन्छ भनेर हामी आफ्नो बुद्धि र विवेकले भ्याएसम्म काम गर्छौँ’,आयोग अध्यक्ष आचार्यले भने। ३३ किलो अवैध सुन बरामदपछि गृह मन्त्रालयले गठन गरेको नौ सदस्यीय कार्यदलले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदन आचार्य नेतृत्वको आयोगले प्राप्त गर्न सकेको छैन। गृहका तत्कालिन सहसचिव इश्वरी पौडेलको संयोजकत्वमा बनेको सो कार्यदलले तयार गरेको प्रतिवेदन सरकारले अहिलेसम्म सार्वजनिक पनि गरेको छैन।

त्यसैगरी, वर्तमान आयोगले तत्कालिन सांसद परी थापाको नेतृत्वमा संसदले बनाएको छानबिन समितिको प्रतिवेदन पनि अध्ययन गरिरहेको छ। सरकारले गत असोज १४ गते उच्च अदातलका पूर्व न्यायाधीश आचार्यको अध्यक्षतामा चार सदस्यीय आयोग गठन गरेको थियो। आयोगको सदस्यमा पूर्व सहसचिवद्वय किशोरजंग कार्की र प्रेमराज जोशी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा छन।