बागमती प्रदेशमा ९५ प्रतिशत संक्रमणमुक्‍त



हेटौंडा : बागमती प्रदेशमा ९५ प्रतिशत कोभिड संक्रमितहरू संक्रमणमुक्‍त भएका छन् । कूल संक्रमित ३ लाख ९४ हजार १ सय ९४ हजारमध्ये प्रदेशमा हालसम्म ३ लाख २० हजार संक्रमणमुक्‍त भएका हुन् । यस्तै १ दशमलव ०९ प्रतिशत अर्थात ३ हजार ६ सय ५० जनाको कोभिडको कारण मृत्यु भएको छ । बागमती प्रदेशमा हाल ११ हजार ९१ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो एक महिनामा कोभिड संक्रमणदर घटे पनि अस्पतालमा उपचार गर्ने र कोभिडको कारण मृत्यु हुनेको संख्यामा भने खासै कमी आउन सकेको छैन । प्रदेशमा अहिले ९ हजार १ सय ६७ जना संक्रमित होम आइसोलसनमा बसेका छन् । १४६ जना भेन्टिलेटरमा, आइसियूमा ३३६ जना, एचडियूमा ५ सय ९३ जना, अस्पतालको बेडमा ३१५ जना, आइसोलेसन सेन्टरको बेडमा ५ सय ३४ जना उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा प्रदेशमा २१ जनाको कोभिडको कारण मृत्यु भएको छ । यस्तै १६७ जना कोभिड संक्रमितहरू थपिएका छन् । एक महिनाको तथ्यांक हेर्दा प्रदेशमा कोरोनाको जोखिम घटेको सामाजिक विकास मन्त्रालयको कोभिड प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईले जानकारी दिए । उनका अनुसार कोभिडको दोस्रो लहरमा संक्रमण दर उच्च बिन्दुमा पुगेको थियो । अबको दुई हप्तामा संक्रमण दर तीन हजार भन्दा तल आउने उनले जानकारी दिए । प्रदेशमा सबैभन्दा धेरै २५ वर्षदेखि ३४ वर्ष उमेर समूहका नागरिकमा कोभिड संक्रमण पुष्टि भएको छ । सो उमेर समूहका ४९ हजार ३ सय ४३ जना पुरुष र ३६ हजार ३ सय ४२ जना महिलामा संक्रमण पुष्टि भएको सेढाईले बताए ।