प्रचण्ड-ओली भेट : टिआरसी विवादमा एमालेको अडान कायमै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो । भेटमा समसामयिक विषय र शान्ति प्रक्रियाका काम चाँडो टुंग्याउने विषयमा छलफल भएको एमाले अध्यक्ष केपी शर्मा ओलीले सञ्चारकर्मीलाई जानकारी दिए ।


संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टीआरसी) विधेयकमाथि छलफल हुँदै आएको छ । त्यसमा मुख्य गरी चार विषयमा सत्ता र प्रमुख प्रतिपक्षीबीच सहमति जुटेको छैन ।

विवादित विषयमा सत्ता गठबन्धनका दल कांग्रेस र माओवादी केन्द्र प्रक्रियाबाट टुंग्याउने पक्षमा छ्न भने एमाले सहमति जुटाउनु पर्ने पक्षमा छ । ओलीले प्रधानमन्त्रीसँग आजको भेटमा पनि संक्रमणकालीन न्यायको विषयमा एमालेको अडान कायम रहेको बताए ।