काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दरबार हत्याकाण्डबारे विचार नपुर्याइ बोलेको टिप्पणी गरेका छन् । आज (बिहिबार) समाजवादी पत्रकार संघ धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले उक्त विषयमा प्रचण्डले कसैसँग पनि सल्लाह नगरी बोलेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले गत माघ १५ गते बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै २०५८ सालमा तत्कालीन राजा वीरेन्द्रको वंश विनाश हुनेगरी भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका थिए ।
वीरगञ्जमा आयोजित एक सभामा पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डका बारेमा बोलेपछि उक्त विषयमा फेरि बहस सुरु भएको छ । आफ्ना दाजुको वंशनाशपछि राजगद्धीमा बसेका र देशमा राजसंस्थाको अस्तित्व समाप्त भएपछि नारायणहिटीबाट नागार्जुन पुगेका पूर्वराजा यतिका समय मौन रहेर २२ वर्षपछि दरबार हत्याकाण्डका बारेमा सार्वजनिक सभामा बोलेका थिए ।
दरबार हत्याकाण्डपछि तत्कालीन नेकपा (एमाले) को महासचिवको हैसियतले माधव नेपाल पनि छानविन समितिमा थिए । पछि उनलाई एमालेले उक्त समितिबाट फिर्ता बोलाएको थियो ।
‘जहाँसम्म दरबार हत्याकाण्डको कुरा छ । त्यतिखेर मेरो नाम आएको थियो । तपाईँहरूले बिर्सिनुभएको छैन होला । मैले के राखेको थिएँ भन्दा म भनेको कम्युनिस्ट पार्टीको नेता हो । म प्रतिपक्ष दलको नेता हो भने सत्तापक्षको नेता पनि त्यो आयोगमा बस्नुपर्छ । गिरिजाबाबु बस्ने हो भने म पनि बस्छु, होइन भने दोष हामीलाई आउने अनि नेपाली काँग्रेस जोगिने त्यो बेलाको स्थिति बन्थ्यो । त्यसैले मैले अरूले बसेर हुँदैन, राजनीतिक नेतालाई राख्ने हो । होइन भने राख्नै छ भने हाम्रो पार्टीबाट भरत मोहन अधिकारीलाई राख्नुस् । उहाँ कानुनको ज्ञाता पनि हो । भनेर मैले प्रस्ताव राखेको थिएँ’, उनले भने ।
कांग्रेस नेता स्वर्गीय गिरिजा प्रसाद कोइरालाले समेत यस्ता विषयमा बोल्नुभन्दा पहिला आफूसँग सल्लाह गर्ने गरेको स्मरण गराउँदै उनले प्रचण्डले किन बोलेका हुन् भन्ने विषयमा आश्चर्य व्यक्त गरे ।
उनले आयोग बनाउन आफ्नो भूमिका रहेको पनि बताए । ‘त्यो बेला तत्कालीन राजा ज्ञानेन्द्र मानिरहेका थिएनन् । उनी राजा त भइसकेका थिएनन्, उनले भनिरहेका थिए । म आफैँ गर्छु छानबिन भनेका थिए । तपाईँको छानबिन कोही मान्नेवाला छैनन् भन्ने मान्छे मै हुँ । छानबिन आयोग बनाउन त बनाए, मलाई पनि जोडिदिए । राजा वीरेन्द्रको अन्तिम संस्कार भइरहेको बेलामा आर्यघाटमा म थिएँ । सभामुख तारानाथ रानाभाट, प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको छानबिन आयोगले छानबिन गर्यो । कति सबै ल्याउन सक्यो । सकेन आफ्नो ठाउँमा छ । अहिले प्रधानमन्त्रीजीले फेरि छानबिन गर्ने कुरा गर्नुभयो । यस्ता कुराका बारेमा अलि सरसल्लाह गरेको भए राम्रो हुन्थ्यो । हामीसँग पनि सल्लाह भएको छैन । मैसँग पनि सोधे त हुन्थ्यो नि । कमसेकम गिरिजाबाबुले त मलाई सोध्ने गर्नुहुन्थ्यो । के गर्ने माधव बाबु भन्नु हुन्थ्यो । हाम्रो प्रचण्डजी छिटो बोलिहाल्नुहुन्छ । ओलीजी अलि पछि गृहमन्त्री भई प्रधानमन्त्री पनि भएकाले उहाँले धेरै सूचना पाउनुभएको छ कि उहाँलाई सोध्नुपर्ला’, उनको भनाइ थियो ।