पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने पक्राउ



काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।

नुवाकोट लिखु गाउँपालिका–४ घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका नेपालटार बस्ने २४ वर्षीय रोजिन न्यौपानेलाई बुधबार दिउँसो रकम ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।


न्यौपानेले ७ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको आरोप छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं माछापोखरीबाट पक्राउ गरेको हो ।

न्यौपानेलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।