नाइजेरियाको उत्तर–मध्य पठार राज्यमा भएको हिंसामा एकैदिन ५५ जनाको मृत्यु भएको छ । त्यहाँ मुस्लिम गोठाला र ईसाई कृषक समुदायबीच झडप भएको हो ।
समुदायका नेताहरूका अनुसार पठारको मङ्गू स्थानीय जिल्लामा २४ घन्टे कर्फ्यु लगाइए पनि बुधबार दिनभर भएको थप आक्रमणमा विद्यालय, पूजा स्थल र घरहरू जलाइएको थियो ।
अधिकांश ईसाई रहेको जातीय म्वाघवुल मानिसहरूको सङ्गठन म्वाघवुल विकास सङ्घले फुलानी मुस्लिम गोठालाहरूमाथि क्वाहास्लालेक गाउँमा आक्रमण गरेको आरोप लगाएको छ ।
उक्त आक्रमणमा करिब ३० जनाको मृत्यु भएको छ । मङ्गू टाउन सेन्टर नजिकै र वरपर धेरै आक्रमण भएको छ । त्यहाँ थप २५ जना मारिएका छन् । नाइजेरियाको उत्तरपश्चिम तथा उत्तर मध्य राज्यहरूमा झडपहरूको मुख्य कारण घुमन्ते गोठालाहरू र गाउँका किसानबीच जग्गालाई लिएर सामुदायिक तनावले भएको हो ।