दक्षिणपश्चिम चीनमा पहिरोमा परी ४३ जनाको मृत्यु



चीनको दक्षिणपश्चिमी क्षेत्रमा गएको पहिरोमा परी मर्नेको सङ्ख्या बिहीबारसम्म ४३ पुगेको र भग्नावशेषमा अझै एक जना बेपत्ता भएका छन् ।  युनान प्रान्तको झेन्सियोङ काउन्टीमा सोमबार बिहानैदेखि गएको पहिरोमा १८ घर पुरिएका र दुई सयभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

घटनास्थलमा थप नौ शव प्राप्त भएको र यसले बुधबार मर्नेको सङ्ख्या ३४ लाई बढाएर ४३ पुर्याएको चिनियाँ सरकारी प्रसारक सिसिटिभीले बिहीबार साँझ बताएको छ ।


राष्ट्रपति सि जिनपिङले  ‘पूर्ण’ उद्धार प्रयास गर्न आदेश दिएका थिए । प्रकोपपछि दुई सय उद्धारकर्मीले पुरिएका गाउँलेहरूको खोजीमा चिसो मौसम र हिउँको तहको सामना गर्नुपरेको छ ।

दर्जनौँ दमकल र खन्ने उपकरणहरू पनि त्यहाँ देख्न सकिन्छ । चीनको दुर्गम र ठूलो मात्रामा गरिब क्षेत्र युनानमा पहिरो जानु सामान्य हो । यहाँ रहेका हिमाली शृङ्खला विशाल हिमालय पठारसम्म पुग्छन् ।