काठमाडौं । राष्ट्रिय सभाको १९ सिटको निर्वाचनको परिणाम आएसँगै राष्ट्रिय सभामा माओवादी केन्द्र पहिलो दल बनेको छ । विहिबार सम्पन्न निर्वाचित सांसदहरुको कार्यकाल भने आगामी फागुन २० गतेदेखि शुरु हुने छ ।
यो निर्वाचनपछि हाल पहिलो दल रहेको नेकपा एमाले तेस्रो दल बनेको छ ।
अब राष्ट्रिय सभामा माओवादी केन्द्रका सबैभन्दा धेरै १८ सांसद भएका छन् । त्यस्तै माओवादीपछि नेपाली कांग्रेसका १६ सांसद भएका छन् भने एमालेका १० सांसद रहने छन् । त्यस्तै एकीकृत समाजवादीका ८ सांसद हुने छन् । यस्तै जसपाका तीन र जनमोर्चाका एक सांसद छन् । राष्ट्रपतिले जनमोर्चाकी नेतृ दुर्गा पौडेललाई मनोनित गर्ने सहमति भएकाले उनी मनोनीत भएर आउँदा जनमोर्चाका २ जना सांसद पुग्नेछन् ।
त्यस्तै वामदेव गौतम राष्ट्रियसभामा अहिले स्वतन्त्रको हैसियतमा छन् । उनलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारको सिफारिसमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनीत भएका थिए ।
को को भए विजयी ?
विहिबार सम्पन्न निर्वाचनबाट कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्द ढुङ्गाना, जीतजंग बस्नेत, विष्णुकुमारी पुडासैनी, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट निर्वाचित भएका छन् । त्यस्तै माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी, मनरूपा शर्मा, झक्कु सुवेदी, विष्णु विश्वकर्मा र रेणु चन्द विजयी भएका छन् ।
त्यसैगरी नेकपा एकीकृत समाजवादीबाट घनश्याम रिजाल विश्वकर्मा र सावित्री मल्ल, एमालेबाट रुक्मिणी कोइराला, जसपाबाट पूजा चौधरी राष्ट्रिय सभामा पुगेका छन् ।
को को बिदा हुदैछन् ?
आगमी फागुन २० बाट कांग्रेसका रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जीतेन्द्रनारायण देव, माओवादीबाट महेशकुमार महरा, हरिराम चौधरी र वीना पोखरेल तथा एमालेबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित विमला राई पौड्याल (मनोनीत), भैरवसुन्दर श्रेष्ठ, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, ईन्दु कडरिया, नरपति लुहार र रामचन्द्र राई बिदा हुँदैछन् ।
त्यस्तै नेकपा एसबाट सिंहबहादुर विश्वकर्मा र नन्दा चपाईं तथा जसपाबाट प्रमिलाकुमारी यादव, नेकपा एसबाट गठबन्धनको सहयोगमा निर्वाचित भएका स्वतन्त्र सांसद खिमलाल देवकोटाको कार्यकाल सकिदै छ ।