कर्णालीबाट गठबन्धनका तीनै उम्मेदवार विजयी



सुर्खेत । राष्ट्रिय सभाको तीन पदमा कर्णालीबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला समूहतर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल, दलित समूहतर्फ माओवादी केन्द्रका विष्णु विक र अन्य समूहतर्फ काँग्रेसका कृष्णबहादुर रोकाय विजयी भएका छन् ।


प्रदेशसभाका ४० सांसद मध्ये महिलातर्फ गठबन्धनकी मल्लले २९ मत प्राप्त गरिन् भने स्थानीय तहतर्फ ११५ मत प्राप्त गर्दै विजयी भएकी छन् । 

यस्तै दलित समूहतर्फ गठबन्धनका उम्मेदवार विकले प्रदेशसभातर्फ २९ र स्थानीय तहतर्फ १२० मत प्राप्त गरेर विजयी भएका छन् । 

त्यसैगरी अन्यतर्फ गठबन्धन दलका उम्मेदवार रोकायले प्रदेशसभातर्फ ३० र स्थानीय तहतर्फ १२० मत प्राप्त गरेर विजयी भएका छन् ।

कर्णाली प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ४० जना मतदाता रहेकोमा ४० जनाले नै मतदान गरी १०० प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १५६ मतदाता रहेकोमा १५६ जनाले नै मतदान गरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।