बीबीसी । जापानका सम्राट् नारुहितोकी एक्ली सन्तान राजकुमारी आइकोले विश्वविद्यालयबाट स्नातक गरेपछि अप्रिल महिनादेखि जापानको रेडक्रस सोसाइटीमा काम सुरु गर्ने भएकी छन् ।
उनले रेडक्रसमा काम गरेपनि राजपरिवारको औपचारिक भूमिकाहरू भने निर्वाह गरिरहने बताइएको छ । २२ वर्षीया राजकुमारी उत्तराधिकारीको लाइनमा छैनन् किनभने जापानी कानुनले पुरुषलाई मात्रै राजगद्दीमा उत्तराधिकारको अनुमति दिन्छ । जापानमा संसारकै धेरै वर्ष पुरानो वंश परम्परामा आधारित राजसंस्था छ ।
एउटा विज्ञप्तिमा राजकुमारी आइकोले रेडक्रसमा ‘सदैव नै रुचि रहेको’ बताएकी छन् । उनको रोजगारदाता रेडक्रसले ‘राजकुमारीले सजिलोसँग काम गरून् भनेर आफूले पूर्ण तयारी गर्ने’ जनाएको छ । जापानमा रेडक्रसको शाही परिवारसँग घनिष्ठ सम्बन्ध छ। पहिलेका साम्राज्ञीहरूले मानार्थ अध्यक्षका रूपमा काम गर्दै आएका छन् ।
गत अक्टोबरमा रेडक्रसले आयोजना गरेको सन् १९२३ मा टोक्यो भूकम्पपछिको राहत क्रियाकलापमाथिको एक प्रदर्शनीमा राजकुमारी आइकोले आफ्ना आमाबुबासँग रेडक्रसको भ्रमण गरेकी थिइन् । पछिल्ला वर्षहरूमा उनले जापानमा प्राकृतिक विपदका पीडित र जीवित रहन सफल मानिसहरूप्रति सहानुभूति व्यक्त गरेकी थिइन् ।
अहिले उनी गाकुशुइन विश्वविद्यालयमा द फ्याकल्टी अफ लेटर्स मा जापानी भाषा र साहित्यको पढाइको अन्तिम वर्षमा छिन् । राजकुमारीहरूलाई जापानको आम वृत्तमा निकै सम्मान दिइन्छ र कैयौँले उनको नयाँ भूमिकाको स्वागत गरेका छन्।