काठमाडौं । आफूलाई तपस्वी भनेर चिनाएका रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी किशोरीको बुवा सवारी दुर्घटनामा ज्यान गएको छ ।
मंगलबार बेलुका पौने ८ बजे सिन्धुलीको भिमानमा प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले दुईवटा मोटरसाइकललाई ठक्कर दिएको थियो।
सिन्धुली प्रहरीका अनुसार डगाबाट भिमानतर्फ जाँदै गरेको उक्त ट्याक्टरले विपरीत दिशातर्फ जाँदै गरेको बा ५८ प ९१४१ र ना ११ प ५७५० नम्बरको मोटरसाइकललाई ट्याक्टरले भिमानमा ठक्कर दिँदा उनको मृत्यु भएको हो।
ठक्करबाट बा ५८ प ९१४१ नम्बरमा सवार रौतहटको गुजरा नगरपालिका-२ का ६३ वर्षीय रणे तामाङ र ना ११ प ५७५ मोटरसाइकलका चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका ६३ वर्षीय विष्णुबहाजुर थिङ घाइते भएका थिए।
यसैबीच मृतकका आफन्तले षड्यन्त्र गरी मारिएको हुन सक्ने आशंका गरेका छन्।
यौन शोषण आरोप लगाउँदै उनकी छोरी लगायतको मुद्दा अदालतमा विचाराधीन रहेको छ भने बमजन हाल महोत्तरी जिल्ला कारागारमा थुनामा रहेका छन् ।