अयोध्यामा राम मन्दिर पुनःस्थापनाप्रति पाकिस्तानको आपत्ति



अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा गरिएकोमा पाकिस्तानले आपत्ति जनाएको छ ।

आज (सोमबार) पाकिस्तानको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै अयोध्यामा बाबरी मस्जिद भत्काएर राम मन्दिर निर्माण गरिएकोमा निन्दा व्यक्त गरेको हो ।


पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ– शदियौं पुरानो मस्जिदलाई ६ डिसेम्बर १९९२ मा चरमपन्थीहरुको भीडले ध्वस्त पारेको थियो । दुर्भाग्यवश भारतको सर्वोच्च अदालतले अपराधीहरुलाई रिहामात्र गरेन, मस्जिद जलाइएको ठाउँमा मन्दिर बनाउन अनुमति दियो ।’

पाकिस्तानले पछिल्लो घटनाक्रमले भारतीय मुसलमानहरुलाई राजनीतिक र सामाजिक रुपमा सीमान्तकृत गर्दै लगिने चिन्ता बढेको जनाएको छ ।

भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा आजै सम्पन्न भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निराहार व्रत बसेर मन्दिरको प्राणप्रतिष्ठा गरेका हुन् ।

तर, यो विशुद्ध धार्मिक आध्यात्मिक विषय हुनुपर्ने भएपनि यसले राजनीतिक रुपमा पाएको छ । राम मन्दिर र बाबरी मस्जिदमध्ये कसको आधिकारिक स्थल भनी विगतमा पटकपटक विवाद हुँदै आएको थियो ।

भारतीय सर्वोच्च अदालतले सन् २०१९ नोभेम्बर ९ मा सात दशक चलेको लम्बेतान मुद्दामा फैसला गरेको थियो । फैसलामा मस्जिद बनाउन २५ किलोमिटर पर छुट्टै जग्गा भारत सरकारले दिलाउने पनि फैसला भएको थियो ।

फैसलापछि भारतीय प्रधानमन्त्री मोदीले मन्दिरको भूमि पूजा सन २०२० अगस्ट ५ मा गरेका थिए । सन् १९९० मा हालको सत्ताधारी भारतीय जनता पार्टीका नेता लालकृष्ण आणवानीले राम मन्दिरको मुद्दा लिएका थिए ।