काठमाडौं । संसदीय समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई छलफलमा बोलाएको छ ।
सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकले स्वास्थ्य मन्त्रालयको चालु आर्थिक वर्षको प्रगति विवरणबारे छलफल गर्न स्वास्थ्यमन्त्री बस्नेतलाई बोलाउने निर्णय गरेको हो ।
बैठकमा मन्त्रालयका गतिविधिबारे मन्त्रालयका अधिकारीहरूले दिएको प्रस्तुति चित्तबुझ्दो नभएपछि त्यसबारे विस्तृत छलफल गर्न स्वास्थ्यमन्त्रीलाई नै बोलाउने निर्णय गरेको समितिका सभापति भानुभक्त जोशीले जानकारी दिए ।
त्यसैगरी बैठकले चालु आर्थिक वर्षको अहिलेसम्मको प्रगति विवरण लिखितरूपमा समितिमा बुझाउन पनि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले स्वास्थ्य क्षेत्रमा देखिएको समस्याहरूको पहिचान गर्नका लागि सम्बन्धित स्वायत्त निकायहरू– राष्ट्रिय चिकित्सा शिक्षा आयोग, बीमा बोर्ड लगायतसँग पनि छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेको छ ।