बेलायतका राजा चाल्र्स तृतीयले आफ्नो प्रोस्टेटको उपचारको लागि अर्को हप्ता अस्पताल जाने बकिङ्घम प्यालेसले बिहीबार जनाएको छ ।
बकिङ्घम प्यालेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हरेक वर्ष हजारौं पुरुषले सामना गर्ने प्रोस्टेटको समस्याजस्तै सामान्य अवस्थाको प्रोस्टेटको उपचारका लागि राजा चाल्र्स अर्को हप्ता अस्पताल जानुहुनेछ । अहिले राजा चाल्र्सकोे अवस्था सामान्य र जोखिमरहित रहेको र उहाँले समस्या थप नहोस् भनी चिकित्सकीय सेवा लिनुहुनेछ ।”
राजा चाल्र्सको पूर्व निर्धारित सार्वजनिक कार्यक्रम उपचारका क्रममा केही समयको लागि स्थगित गरिनेछ । महारानी एलिजाबेथ द्वितीयाको निधनपछि गत वर्ष ७४ वर्षको उमेरमा राजा चाल्र्सले बेलायतको राजकीय बागडोर सम्हालेका थिए ।
बेलायतको नेसनल हेल्थ सर्भिसका अनुसार हरेक तीन जना बेलायती पुरुषमध्ये एक जनाभन्दा बढीले आफ्नो जीवनकालमा प्रोस्टेट बढ्ने समस्याको सामना गर्नुपर्ने हुन्छ र यो अवस्था सामान्यतया बुढ्यौलीसँग सम्बन्धित हुन्छ ।
एनएचएसले आफ्नो वेबसाइटमा भनेको छ, “उमेर बढ्दै जाँदा प्रोस्टेट किन ठूलो हुन्छ भन्ने थाहा छैन, तर यो क्यान्सरका कारण होइन र यसले प्रोस्टेट क्यान्सर हुने खतरा बढाउँदैन ।”