उत्तर र दक्षिण कोरियाबीच तनाव बढ्दै



बीबीसी । उत्तर र दक्षिण कोरियाबीच तनाव चर्कँदै जाँदा दक्षिण कोरियाली राष्ट्रपति यून सुक यउलले यदि आफ्नो देशलाई उक्साउने गतिविधि भएमा उत्तर कोरियालाई ‘ठूलो बलको प्रयोग गरेर’ जवाफ दिने चेतावनी दिएका छन् ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जङ अनले एक भाषणमा आफ्नो देशको संविधानमा परिवर्तन गरेर दक्षिण कोरियालाई ‘मुख्य दुस्मन र प्रधान शत्रु’ का रूपमा व्याख्या गरिनुपर्ने बताएपछि दक्षिणका राष्ट्रपतिको त्यस्तो प्रतिक्रिया आएको हो । उनले त्यस्तो परिवर्तन गरिँदा युद्ध भएको खण्डमा दक्षिण कोरियाली भूभाग उत्तरमा गाभ्न सकिने व्यवस्था पनि गरिनु पर्ने टिप्पणी गरेका थिए ।


उत्तर कोरियाको सरकारी समाचार एजेन्सी ‘केसीएनए’का अनुसार सोमबार एउटा महत्त्वपूर्ण संसदीय बैठकलाई सम्बोधन गर्दै नेता किमले दक्षिण कोरयालाई मेलमिलाप र एकीकरणको उद्देश्यका निम्ति आफ्नो देशको सहयात्रीका रूपमा परिभाषित नगर्न कानुनी उपायहरू तयार पार्न आग्रह गरेका थिए ।

जवाफमा दक्षिण कोरियाका राष्ट्रपतिले भनेका छन्, ‘उत्तर कोरयाली अधिकारीहरूले दक्षिण र उत्तर कोरियालाई समान मूल भएका देशका रूपमा नभई दुई शत्रुतापूर्ण सम्बन्ध भएका राष्ट्रका रूपमा व्याख्या गरेका छन्। यसबाट उत्तर कोरियाली सत्ताले आफ्नो चरित्र राष्ट्रविरोधी र इतिहासविरोधी रहेको स्वीकार गरेको छ। यो कोरियाली गणतन्त्रलाई विभाजित तुल्याउने र हाम्रा जनताको मनमा संशय उत्पन्न गराउने राजनीतिक उक्साहट हो।’

उनले दक्षिण कोरियाले एकजुट भएर उत्तरको भ्रमपूर्ण गतिविधि र मिथ्या प्रचारलाई पराजित गर्नुपर्ने पनि बताए । यसैबीच उत्तर कोरियाले अन्तरकोरियाली संवाद र सहकार्य प्रवर्धन गर्ने उद्देश्य बोकेका तीनवटा निकायलाई पनि भङ्ग गरिदिएको छ । दुई देशबीच यस्ता अप्रिय प्रकृतिका भनाभनको घटनाको सङ्ख्या गत एक वर्षदेखि बढ्दै गएको देखिएको छ ।