भानुमा ‘विपन्न नागरिक’ सहयोग कार्यक्रम



तनहुँ । तनहुँ जिल्लाको भानु नगरपालिका कार्यालयले ‘विपन्न नागरिक’ सहयोग कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । मिर्गौला डायलाइसिस, मिर्गौला प्रत्यारोपण, क्यान्सर, मेरुदण्ड र पक्षघात भएकाको उपचारका लागि सहयोग गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको हो ।

हाल विभिन्न वडाबाट नगरपालिकामा ती रोगको उपचारका लागि ५५ जनाको नाम सिफारिस भएको छ । उक्त प्रकृतिका बिरामीका लागि मासिक पाँच हजार उपचार खर्च उपलव्ध गराउदै आएको नगरपालिकाले जनाएको छ ।


नगरपालिकाको हालै सम्पन्न १३औँ सभाबाट विपन्न नागरिक सहयोग कार्यक्रमका लागि ४० लाख बजेट विनियोजन गरिएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।

स्वास्थ्य केन्द्रहरुमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जाँच गर्ने अभियान सुरु गरेको उनले बताए । कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि लक्षित जनसङ्ख्याले कोभिडविरुद्धको खोप प्राप्त गरिसकेका छन् । किशोरीहरुको प्रजनन स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम, पोषण स्थिति सुधार कार्यक्रम सञ्चालन गर्दै आएको उपप्रमुख उमा गोतामेले जानकारी दिए

त्यसैगरी, स्वास्थ्य क्षेत्रको पूर्वाधारतर्फ पुरानडिही नगर अस्पतालको अत्याधुनिक भवन निर्माण कार्य अन्तिम चरणमा अगाडि बढेको छ । नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउन सुविधासम्पन्न अस्पताल निर्माण कार्यलाई प्राथामिकता दिइएको छ ।

कालीमाटी अस्पतालको निर्माणका लागि ठेक्का सम्झौता भएता पनि अस्पताल भवनको डिपीआर अनुसार यकिन गरिएको स्थानमा ‘लेआउट’ गर्दा जग्गा विवाद भएपछि अन्यत्र व्यवस्था गरी निर्माण प्रक्रिया अघि बढाइएको छ ।

महायज्ञबाट सङ्कलित रकम अपाङ्गता भएकाको सहयोगमा

तनहुँ नेत्रहीन सङ्घले ज्ञान महायज्ञबाट सङ्कलन भएको २५ लाखमध्ये खर्च कटाएर १३ लाख बचत हुने भएकाले उक्त रकम अपाङ्गता भएकाहरुका लागि आवाससहितको सीपमूलक तालिम भवन निर्माण गरिने भएको छ ।

व्यास नगरपालिका–५ पाटन निवासी समाजसेवी केबी गुरुङले २५ लाख मूल्य बराबरको चार आना दुई दाम जग्गा नेत्रहीन सङ्घलाई प्रदान गरेका छन् ।

आर्थिक वर्ष ०८०÷८१ मा सामाजिक विकास तथा समन्वय एकाइबाट १० लाख, व्यास नगरपालिकाबाट पाँच लाख, म्याग्दे गाउँपालिकाबाट दुई लाख भवन निर्माणका लागि विनियोजन गरिएको छ ।