चीनको पहिलो औपचारिक भ्रमणबाट फर्किएपछि माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जूले भारतप्रति आक्रामक दृष्टिकोण अपनाएका छन् । भारतको नाम नलिए पनि उनले भारतप्रति आक्रामक अभिव्यक्ति दिएका छन् ।
माल्दिभ्सका मन्त्रीहरूले भारत र प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिएर आपत्तिजनक टिप्पणी गरेपछि दुई देशबीचको सम्बन्धमा आएको तिक्तता हटाउन केही सकारात्मक पहल गर्न सकिने विश्वास गरिएको थियो ।
माल्दिभ्सका विपक्षी दलहरूले ती मन्त्रीहरूलाई निलम्बन गरेर मात्रै नपुग्ने भन्दै माल्दिभ्स सरकारले उनीहरूको भनाइप्रति भारतसँग खेद व्यक्त गर्नुपर्ने माग गर्दै आएका थिए । तर चीनको पाँच दिने भ्रमण सकेर स्वदेश फर्किएका मुइज्जूले सानै देश भए पनि हामीलाई धम्की दिने अनुमति कसैलाई नभएको बताए ।
उनले आफ्नो देश कसैको घरको आँगनमा बसेको नभई हामी स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न भएको बताए । माल्दिभ्सले भारतलाई मार्च १५ सम्म आफ्नो देशबाट भारतीय सेना फिर्ता गर्न भनेको छ ।
माल्दिभ्सबाट उच्च स्वास्थ्य सुविधा र उपचारका लागि भारत सहितका देशहरूमा बिरामी पठाउने गरिएको छ। तर चीनबाट फर्केपछि मुइज्जूले उनीहरूलाई संयुक्त अरब इमिरेट्स र मलेसिया पठाइने घोषणा गरेका छन् । मोहम्मद मुइज्जूले गतवर्षको आफ्नो वर्ष चुनावी अभियान नै भारतको आलोचनामा केन्द्रित गरेका थिए ।