सामुदायिक वनमा काँचा सालका रुख कटानी



कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ बाणीस्थित गडबिजुला सामुदायिक वनमा काँचा सालका खडा रुख कटानी गरी तस्करी गरेको पाइएको छ ।

सामुदायिक वनमा तीन सालका रुख कटानी गरी तस्करी गरेको पाइएको हो । सामुदायिक वनका अध्यक्ष धनीराम चौधरीले वन गस्तीमा जाने क्रममा तस्करले मेसिनको प्रयोग गरी सालका रुख कटानी गरी लगेकोे पाइएको बताए । रुख कटानी भएका क्षेत्रमा ट्र्याक्टर हिँडेको टायरका छाप स्पष्टसँग देखिएको उनले बताए ।


दिउँसो मात्रै वनमा हेरालुको व्यवस्था रहेको जनाउँदै उनले राती वन गस्तीका लागि वन हेरालु राख्न नसक्दा रुख तस्करी हुन थालेको बताए । “पूर्व पश्चिम राजमार्गमा राखिएका सिसिटिभी क्यामेरामा गुलरीया तर्फबाट दुई ट्राक्टर वनतर्फ आएको देखिन्छ, तीन घण्टापछि ट्रलिमा काठ छोपेर लगेको देखिन्छ”, उनले भने, “त्यसकै आधारमा अनुसन्धानको कार्य अगाडि बढाइएको छ ।”

सालका रुख कटानी भएको देखिएपछि सबडिभिजन वन कार्यालय बाणीमा खबर गरिएको उनले बताए । उनले सामुदायिक वनका पदाधिकारी र उपभोक्ता काठ तस्करीमा कोही पनि संलग्न भएको नदेखिएको बताए । अहिले वन क्षेत्रमा नियमित राति र दिउँसो वनका पदाधिकारी, सबडिभिजन कार्यालयका वनरक्षक, उपभोक्तालगायतले संयुक्तरुपमा गस्ती गरिरहेको उनले जानकारी दिए ।

सबडिभिजन वन कार्यालयका प्रमुख अमर धामीले सामुदायिक वनमा रुख कटानी गरी तस्करी भएको पाइएपछि वनका पदाधिकारीलाई चिठ्ठी लेख्ने कार्य गरिएको बताए । “सामुदायिक वनमा काठ कटानी गरिएको जानकारी पाउना साथ डिभिजन वन कार्यालयका प्रमुखसहितले राति नै गस्ती गरेका छौँ”, उनले भने, “वन रक्षकलाई नियमित गस्तीका लागि खटाइएको छ ।”

अनुसन्धानमा काठ कटानी गरी तस्करी गर्ने शङ्कास्पद व्यक्ति नजिक पुग्ने बलियो आधार तय भएको उनले बताए । “जोसुकै भए पनि छाडदैनौँ”, उनले भने, “तस्कर छिट्टै पक्राउ पर्छन् ।” सःमिलमा हेर्ने कार्य भइरहेको जनाउँदै उनले डिभिजन वन कार्यालय कैलालीसँगसमेत समन्वय गरी अनुसन्धानको कार्य अगाडि बढाइएको जानकारी दिए ।