काठमाडौँ । एशियन फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता एशियन कप फुटबल प्रतियोगिता आजदेखि कतारमा शुरु हुदै छ । एशियन कपको १८औं संस्करणमा कुल २४ देशले भाग लिदै छन् ।
अघिल्लो बर्ष १६ जुन देखि १६ जुलाईसम्म चीनमा आयोजना हुने भनिएको यो प्रतियोगिता कोरोना महामारीका कारण चीनले आयोजना नगर्ने भनेपछि कतारले आयोजना गर्ने भएको हो । अब आजदेखि शुरु हुने एशियन फुटबलको यस महाकुम्भका खेलहरु २०२२ को विश्वकप फुटबल खेलिएका सात स्टेडियममा हुने छन् ।
यस प्रतियोगितामा ताजकिस्तानले पहिलो पल्ट भाग लिदै छ भने हङकङ ५६ बर्षपछि एशियन कपमा कमब्याक गरेको छ । त्यस्तै इन्डोनेसिया र मलेसियाले २००७ पछि पहिलो पल्ट एशियन कप खेल्दै छन् । त्यस्तै यस प्रतियोगितामा सार्क देशबाट भारत मात्र सहभगी रहेको छ ।
सहभागी २४ देशलाई ६ समुहमा बिभाजन गरिएको छ । जसबाट हरेक समुहका विजेता र उपविजेता राउण्ड १६ मा प्रवेश गर्ने छन् भने तेस्रो स्थानमा रहेका शिर्ष ४ देशले राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गर्ने छन् ।
एशियन कपको समुह ए मा आयोजक कतारसहित चीन, ताजकिस्तान र लेबनान रहेका छन् भने समुह बी मा अस्ट्रेलिया, उज्बेकिस्तान, भारत र सिरिया रहेका छन् । त्यस्तै समुह सी मा इरान, युएई, हङकङ र प्यालेस्टाइन रहेका छन् भने समुह डी मा जापान, इन्डोनेसिया, इराक र भियतनाम रहेका छन् ।
त्यसैगरी समुह इ मा दक्षिण कोरिया, मलेसिया, जोर्डन र बहराइन रहेका छन् भने समुह एफ मा साउदी अरेबिया, थाइल्याण्ड, किर्गिस्तान र ओमान रहेका छन् । एशियन कपको उद्घाटन खेलमा आज एशियन कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको आयोजक कतारले लेबनानको सामना गर्ने छ । यो खेल नेपाली समय अनुसार रति ९ : ४५ बजेदेखि शुरु हुने छ ।
अहिलेसम्म एएफसी एशियन कपको उपाधि सबैभन्दा बढी जापानले ४ पटक जितेको छ । जापानले १९९२, २०००, २००४ र २०११ मा जितेको थियो । त्यस्तै साउदी अरेबियाले ३ (१९८४, १९८८ र १९९६) पटक यो उपाधि जितेको थियो भने इरानले पनि ३ (१९६८, १९७२ र १९७६) पटक यो उपाधि जितेको छ ।
त्यस्तै दक्षिण कोरियाले १९५६ र १९६० मा गरि दुई पटक यो उपाधि जितेको छ भने इजरायलले १९६४ मा, कुवेतले १९८० मा, अस्ट्रेलियाले २०१५ मा, इराकले २००७ मा र कतारले २०१९ मा एसियन कपको उपाधि जितेका थिए ।
अहिलेसम्म युएई १९८४ र २००४ मा फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन भने भारत १९६४ र म्यान्मार १९६८ मा फाइनलमा पुगेर उपाधि जित्न चुकेका थिए ।