कानून समितिमा प्रधानमन्त्री दाहालको दाबी : आउने केही दिनमा पञ्चेश्वरको ब्रेक-थ्रु हुन्छ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण र भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध बलियो भएको दाबी गरेका छन् । आफ्नो भारत भ्रमणको क्रममा १० हजार मेगावाट विद्युत भारतले किन्ने सम्झौता हुनु र भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदा सो सम्झौता कार्यान्वयनको लागि सहमति हुनु ठूलो उपलब्धि भएको उनको भनाई छ ।

यस्तै, प्रधानमन्त्री दाहालले आउने केही दिनमै पञ्चेश्वर जलविद्युत परियोजनाको ब्रेक–थ्रु हुने पनि विश्वास दिलाए । प्रतिनिधिसभाअन्तर्गत आज (बुधवार) बसेको संसद्को कानुन समितिमा बोल्दै प्रधानमन्त्री दाहालले भने,‘मलाई विश्वास छ आउने केही दिनमा पञ्चेश्वरको ब्रेक थ्रू हुन्छ । त्यसले नेपालको अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक असर पर्छ ।’ यस्तै दाहालले भारतीय दूतावासले सिधै २० करोडसम्म खर्च गर्नसक्ने सहमित भएकोमा पनि आपत्ति मान्न नहुने दलिल पेश गरे ।


उनले यसअघि आफू खुशी खर्च गर्ने गरिएको भएपनि अब भने संघीय सरकारको मातहतमा रहेर खर्च गरिने बताए । एमाले सचेतक महेश बर्तौलाले सो सहमति गरेर राष्ट्रघात गरिएको आरोप लगाएपछि दाहालले यस्तो स्पष्टीकरण दिएका हुन् ।