सोल । दक्षिण कोरियामा कुकुरको मासुको व्यापारमा प्रतिबन्धलगाइएको छ । मंगलबार त्यहाँको संसद्ले यस विषयमा नयाँ कानुन पारित गरेको हो ।
यो कानुनले सन् २०२७ देखि त्यहाँ कुकुरलाई काट्न र मासु बेच्न पूरै रोक लगाउने छ । दक्षिण कोरियामा शताब्दीऔँदेखि कुकुरको मासु खाइँदै आएको छ । तर हालैका दशकहरूमा युवा पुस्तामाझ कुकुरको मासु खाने प्रवृत्ति घट्दै गइरहेको छ । युवा पुस्ताहरूले यसको मासु खान छाडेका छन् ।
नयाँ कानुनअन्तर्गत खपतको उद्देश्यले कुकुर पाल्न र काट्नमा बन्देज लाग्नेछ । मासु बाँड्न र बेच्न पनि पाइनेछैन । यो कानुन उल्लङ्घन गर्नेलाई जेल सजाय दिइनेछ । कुकुर काटेको भेटिएमा तीन वर्षसम्म जेल सजाय भोग्नु पर्नेछ । खपतका लागि कुकुर पाल्ने र मासु बेच्नेले पनि अधिकतम २ वर्षसम्मको जेल सजाय दिइनेछ ।
तर कुकुरको मासु खानु भने गैरकानूनी मानिने छैन । किसान र रेस्टुराँ मालिकहरूका लागि रोजगारी र आयको वैकल्पिक स्रोत खोज्न समय मिलोस् भनेर कानुन तीन वर्ष पछि मात्रै कार्यान्वयन गरिनेछ । यो कानुनका कारण प्रभावित हुने व्यवसायीहरूलाई सरकारले पूरा सहयोग गर्ने बताइएको छ ।
सरकारी तथ्याङ्कका अनुसार दक्षिण कोरियामा सन् २०२३ मा कुकुरको मासु बेच्ने १ हजार ६०० रेस्टुराँ थिए भने खपतका लागि कुकुर पाल्ने किसानको सङ्ख्या १ हजार १५० थियो । सन् १९८० को दशकयता कोरियाली सरकारले पटक पटक कुकुरको मासुमा बन्देज लगाउने खोजेका थिए । तर यो योजना सफल हुन सकेको थिएन । पशु अधिकारकर्मीहरूले लामो समयदेखि प्रतिबन्ध लागू गर्न दबाब दिँदै आएका थिए । खपतका लागि कुकुर पाल्ने किसानहरूले भने यो कानुनको विरुद्धमा विरोध प्रदर्शन गर्दै आएका थिए । दक्षिण कोरियामा मात्रै होइन चीन र भियतनाममा पनि कुकुरको मासु खाइन्छ ।