राष्ट्रियसभाको सिट भागबण्डामा एकीकृत समाजवादी असन्तुष्ट



काठमाडौँ । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धनले सिट बाँडफाँट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको सत्तारुढ गठबन्धनको बैठकले संयुक्तरुपमा उम्मेदवारी दिने निर्णय गरेको बैठकमा सहभागी नेपाली कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

उनका अनुसार नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र) ले ६, नेकपा (एकीकृत समाजवादी) ले २ र जनता समाजवादी पार्टी नेपालले एक सिटमा उम्मेदवारी दिने गरी सहमति भएको छ । बाँकी रहेको एक सिटमा भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ ।


एकीकृत समाजवादीले ३ सिटमा दाबि गरेकोमा २ सिट मात्र पाएपछि असन्तुष्टि व्यक्त गरेको छ । एकीकृत समाजवादीले २ सिट मात्र दिने भए केन्द्रमा एक थप मन्त्री दिन वा राष्ट्रिय सभाको अध्यक्ष दिन माग गरेको बुझिएको छ । गठबन्धनका शिर्ष नेताहरुले भने एकीकृत समाजवादीले २ सिटमा चित्त बुझाउनुपर्ने बताएका छन्  ।    

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन र भोलि उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका तय गरिएको छ । मनोनयन दर्तापछि उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुस २४ गते हुनेछ भने मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशित हुनेछ ।