लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट रु एक करोड छ लाख ४० हजार भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०–८१ अन्तर्गत दोस्रोपटक शुक्रबार सम्पन्न भएको दानपेटिका गणनाबाट उक्त रकम सङ्कलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाको उपस्थितिमा यही पुस १७ गते दानपेटिका खोलिएको थियो । मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको दानको आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको छ । सङ्कलित दान पारदर्शी बनाउनेगरी गणनाको व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
पछिल्लो समय लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । यसअघि कात्तिकमा खोलिएको यो आर्थिक वर्षको पहिलो दानपेटिका गणनाबाट रु ६४ लाख ७६ हजार नौ सय ६० सङ्कलन भएको थियो ।