कास्की । साबिक विजेता सङ्कटा फुटबल क्लबलाई फराकिलो गोल अन्तरले हराउँदै मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्ड कप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सहारा क्लब पोखराको आयोजनामा यही माघ ६ गतेदेखि पोखरा रङ्गशालामा जारी प्रतियोगिताको आज सम्पन्न तेस्रो क्वार्टरफाइनलमा शहीद स्मारक ‘ए’ डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रले मेसुके ओलुमोउको उत्कृष्ट दुई गोलको मद्दतमा आहा ! राराको डिफेन्डिङ च्याम्पियन सङ्कटालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
टोलीका महत्वपूर्ण आधा दर्जन खेलाडी राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा सहभागी भएपछि मच्छिन्द्रले दोस्रो रोजाइका खेलाडी लिएर मैदान उत्रिएको थियो । खेलमा मच्छिन्द्रले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । सङ्कटाले दोस्रो हाफमा एक गोल फर्कायो ।
सुरुआतमा डिफेन्डिङ च्याम्पियन सङ्कटाले मच्छिन्द्रलाई दबाबमा राखे पनि गोल गर्न सकेको थिएन । खेलको १३ औँ मिनेटमा मच्छिन्द्रले उत्सव राईको गोलमार्फत खेलमा अग्रता बनायो । पेनाल्टी क्षेत्र नजिकबाट राईको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भएको थियो । प्हिलो हाफमा १–० को अग्रता बनाएको मच्छिन्द्रले खेलको ४७औँ मिनेटमा अग्रता दोब्बर बनायो ।
अभिषेक रिजालको क्रसपासमा पेनाल्टी क्षेत्रमा अनमार्क रहनुभएका मेसुकेले दुई रक्षापङ्क्तिका खेलाडी र गोलकिपरलाई छक्काएर गोल गर्न सफल भएका थिए । वैकल्पिक खेलाडीका रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका सङ्कटाका गणेश हमालले खेलको ६३औँ मिनेटमा कर्नरमा आएको बललाई हेडमार्फत गोल गर्दै सङ्कटालाई खेलमा फर्काउने प्रयास गरेपनि पनि त्यो सफल हुन सकेन ।
मच्छिन्द्रका अभिषेक गुरुङले ८४ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता बढाए । फ्री किकमा गोलकिपरबाट रिवाउन्ड बललाई नियन्त्रणमा लिँदै उनले गोल गर्न सफल भएका थिए । त्यसैगरी खेलको ‘म्यान अफ दी म्याच’ घोषित मच्छिन्द्रका मेसुकेले ८६औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै अन्तर फराकिलो बनाए ।
नाथानिल जुडे गार्सियाको पासमा मेसुकेले गोल गरेका थिए । मच्छिन्द्र राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा यथावत् छ । मच्छिन्द्रले एएफसी एसियन कपमा नेपालको प्रतिनिधित्व गर्दै छनोट भएको छ । प्रतियोगितामा अब मच्छिन्द्रले फाइनल प्रवेशका लागि बुधबार सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबसँग खेल्नेछ ।
प्रतियोगिताअन्तर्गत चौथो तथा अन्तिम क्वार्टरफाइनलको खेलमा मङ्गलबार थ्री स्टार फुटबल क्लब र नेपाली सेनाको विभागीय त्रिभुवन आर्मी फुटबल क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।
आगामी माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लबका अध्यक्ष हरिराम गुरुङले जानकारी दिए । यसैगरी प्रतियोगिताको उत्कृष्ट पाँच विधाका खेलाडीहरूलाई जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् ।