प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय विदेश मन्त्री एस. जयशंकरले भेटवार्ता गरेका छन् ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन विहिबार बिहान काठमाडौं आइपुगेका विदेशमन्त्री जयशंकरले सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । 


प्रधानमन्त्री सचिवालयका अनुसार भेटमा दुई देशबीचको सम्बन्ध, द्वीपक्षीय हित र चासो, नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार र प्रधानमन्त्री प्रचण्डको गत जेठमा भएको भारत भ्रमणमा भएका सम्झौता कार्यान्वयनका विषयमा छलफल भएको छ ।

विदेशमन्त्री जयशंकरले यसअघि राष्ट्रपति रामचन्द्र पौडेललाई शिष्टाचार भेटवार्ता गरेका थिए ।

भेटमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिए । 

प्रधानमन्त्रीसँगको भेटपश्चात जयशंकर दिउँसो १ बजे  होटल याक एण्ड यतिमा आयोजना हुने नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् । बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री साउद र भारतको तर्फबाट विदेशमन्त्री जयशंकरले नेतृत्व गर्नेछन् । 

विदेशमन्त्री जयशंकरले आजै कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटघाट गर्ने कार्यतालिका रहेको छ ।

विदेशमन्त्री जयशंकर शुक्रबार शुक्रबार बिहान पशुपतिनाथ मन्दिरमा पूजा गर्ने र मध्यान्ह १२ बजे भारत फर्किने तालिका रहेको छ ।