बाँकेमा परीक्षण गरिएका ७० प्रतिशतमा काराेना संक्रमण



नेपालगञ्ज । बाँकेमा परीक्षण भएकामध्ये ७० प्रतिशतभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा सोमवार १९५ नमुना परीक्षण गरिएकोमा १३७ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा १२३ जनाको नमुना जाँचगर्दा ९१, मेडिकल कलेज कोहलपुरमा ४४ जनाको नमुना जाँच गर्दा ३० र बागेश्वरी ल्यावमा २८ नमुना जाँचगर्दा १६ जनामा भाइरस संक्रमण पुष्टि भएको हाे ।


संक्रमण पुष्टि भएकामध्ये बाँकेका ९७ जना रहेका छन् । संक्रमण पुष्टि भएका सबैभन्दा बढी नेपालगञ्ज र कोहलपुरका छन् । पुरुषको तुलनामा महिलाको संख्या बढी छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ७२७ पुगेको छ । सात सयभन्दा बढी सक्रिय संक्रमित भटिएपछि बाँके रेड जोन घोषित भएको थियाे ।

यसैगरि यहाँस्थित नेपाल–भारत नाकामा पनि भारतबाट आउनेहरुमा संक्रमण धेरैमा देखिन थालेको जमुनाहा नाकास्थित हेल्थ डेस्कले जनाएको छ । सो डेस्ककाअनुसार गत २४ घण्टामा भारतबाट आउनेहरुमध्ये शंकास्पद रहेका ३६१ जनाको परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको छ । नाकामा पनि दैनिक संक्रमित भेटिनेक्रम बढेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।