मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित छैन : मन्त्री यादव



काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आफ्नो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएको स्पष्ट पारेकी छन् । आज विज्ञप्ति जारी गर्दै उनले नागरिकमा भ्रम पर्न गएकामा दुःख व्यक्त गरेकी छन् । यसलाई सामान्य रुपमा लिन अनुरोध गर्दै उनले आफू आगामी दिनमा यसप्रति सचेत रहने बताएकी छन् ।

मन्तव्यलाई लिएर केही भ्रम फैलिएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेर उनले आफ्नो भनाइ कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको बताएकी छन् । वक्तव्यलाई अत्तिरञ्चित नगर्न पनि उनले विज्ञप्तिमार्फत अनुरोध गरेकी छन् ।


‘मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेट नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसै–कसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेको प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ’, उनले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।