मन्त्री ज्वालाको लापरवाहीका कारण बालकुमारीमा दुर्घटना भयो : महामन्त्री थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण भएको आरोप लगाएका छन् ।

सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले लापरबाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने बताए ।


उनले घटनामा  श्रम मन्त्रालय र गृह मन्त्रालयको पनि कमजोरी रहेको बताउदै साउनदेखिको ईपीएसको विषय सरकारले सम्बोधन नगर्नु सरकारको लापरबाही भएको टिप्पणी गरे ।

उनले भने- ‘त्यहाँ घटना हुँदैछ भन्ने थाहा पाउँदा पाउँदै यो जबरजस्ती हो । चरम लापरबाही हो, हेपेको हो । सामान्य व्यक्तिले गर्ने लापरबाहीले त कतिथोक व्यहोर्नुपर्छ । त्यत्रो ओहोदामा रहेको व्यक्तिले गरेको लापरबाहीले गर्दा यत्रो ठूलो दुर्घटना भयो । यो समितिले मन्त्रीको लपारबाही हेर्छ कि हेर्दैन ? लापरबाही हो भने दण्ड हुन्छ । यो त साउनदेखि भएको हो । मंसिरदेखि त निरन्तर आन्दोलन भइरहेको छ । यसमा गृहमन्त्रीज्यूले सामान्य जानकारी गराउनुभएको छ । त्यसमा पनि हाम्रा केही आशंका छन् ।’