प्रदेश र स्थानीय तहलाई अधिकार नदिने भए संघियता खारेज गर्नुपर्छ : डा. कोइराला



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संविधानमा उल्लेख भए अनुसार प्रदेश र स्थानीय तहलाई अधिकार नदिने भए संघियता नै खारेज गर्नुपर्ने बताएका छन् ।

मंगलबार मोरङको बुढीगंगा गाउँपालिका वडा नं. २ स्थित लिलाभक्त राम आधारभूत विद्यालयको दुई कोठे भवनको उद्घाटन गर्दै वरिष्ठ नेता कोइरालाले सो कुरा बताएका हुन्।


उनले राजनीतिक दलका नेताहरूको अकर्मण्यताका कारण अहिले गणतन्त्र, संघियता र धर्म निरपेक्षता बारे जनताले आक्रोश व्यक्त गरिरहेको उल्लेख गरे ।

नेता कोइरालाले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको र सुशासन दिन नसकिएकोले जनतामा निराशा छाएको समेत बताए। उनले उद्योगहरू बन्द हुने अवस्थामा पुगिरहेको बेला विद्युतको बक्यौताका नाममा चलिरहेको उद्योग बन्द गराउने सरकारको नीति गलत भएकाले डेडिकेटेड र ट्रक लाइन विवाद बारे छिटो निर्क्याैलमा पुग्न आग्रह गरे।

बुढीगंगा गाउँपालिका वडा नंं २ मा २०६४ सालमा स्थापना गरिएको सो आधारभूत विद्यालयमा ३ सय दलित र सुकुम्वासी परिवारका ३ सय ७५ जना बालबालिकाहरू अध्ययनरत छन् । गाउँपालिकाको करिब १८ लाख सहयोगमा दुई कोठे भवन निर्माण गरिएको हो ।