सिञ्जामा एक करोड ७३ लाख लगानीमा खानेपानी आयोजना निर्माण हुँदै



जुम्ला । सिञ्जा गाउँपालिका पालिकाभित्रका सबै वडामा एक घर एक धारा निर्माणमा जुटेको छ । पालिकाको वडा नम्बर १ मा रु एक करोड ७३ लाख ८३ हजार लागनीमा खानेपानी आयोजना निर्माणको ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ । गाउँपालिका अध्यक्ष धितालले भने, “अब ठेक्काको काम सकिएपछि गाउँमा खानेपानी आयोजनाको काम अगाडि बढ्ने भएको छ ।” सङ्घीय सरकारको विशेष अनुदानबाट सिञ्जाका सबै गाउँमा पाँच वर्षभित्र खानेपानी पुर्याउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष धितालले बताए ।


यो आर्थिक वर्षको असारभित्र खानेपानी आयोजना निर्माण सम्पन्न हुने भएको छ । वडा नं ३ मा सुस्वा परियोजनाबाट एक घर एक धारा खानेपानी आयोजनाको कामसमेत अगाडि बढेको गाउँपालिका अध्यक्ष धितालको भनाइ छ । क्रमशः अर्को वर्ष अरु वडामा समेत घर घरमै खानेपानी पुर्याइने भएको छ । उक्त खानेपानी आयोजनाबाट सिञ्जा–१ का करिब दुई सय घरधुरी लाभान्वित हुने गाउँपालिका अध्यक्ष धितालले जानकारी दिए ।

वडा नं १ मा निर्माण हुने आयोजनाबाट गाउँमा एक सय नौ खानेपानीका धारा निर्माण हुने गाउँपालिकाका इन्जिनियर राजकुमार भट्टले बताए । खानेपानीको सहज सुविधा पुर्याउने गरी खानेपानी आयोजना निर्माणको काम अबको केही सातापछि बोलपत्रको मूल्याङ्कनको काम सकिएपछि निर्माण आयोजनाको काम

तीव्र गतिमा अगाडि बढ्ने गाउँपालिका इन्जिनियर भट्टको भनाइ छ । नीति तथा कार्यक्रममा खानेपानीलाई विशेष प्रथामिकतामा राखेर गाउँपालिकाले काम गरेको गाउँपालिका सूचना अधिकारी मित्रलाल धितालले जानकारी दिए ।