काठमाडौँका विद्यालयमा ‘डिआई’ प्रतिबन्ध



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनुशासन इन्चार्ज (डीआई) नराख्न मातहतका विद्यालयलाई निर्देशन जारी गरेको छ । अनुशासन कायम गर्नेभन्दै केही विद्यालयले डीआई राखेको विषयमा गुनासो परेको भन्दै महानगरले यस्तो निर्देशन जारी गरेको हो ।

पछिल्लो समय विद्यार्थीलाई अनुशासनमा राख्ने नाममा सबैजसो शैक्षिक संस्थाले डीआई राख्ने गरेका छन् । जसको मुख्य काम विद्यार्थीले कुनै गल्ती गरेमा सचेत गराउनेदेखि साथीको अगाडि उभ्याएर चरम यातना दिनेसम्मको हुने गरेको छ ।


विद्यालयले डीआई राखेर विद्यार्थीमा भय सिर्जना गरेको, विद्यार्थीहरुमा मनोवैज्ञानिक रुपमा नकारात्मक असर परेको र शारीरिक यातनासमेत दिइने गरेको पाइएको भन्दै महानगरले त्यसो नगर्न मातहतका विद्यालयहरुलाई सचेत गराएको छ ।

विद्यार्थीलाई परामर्श दिनै परेमा शिक्षालयले मनोविद् वा तालिम प्राप्त विज्ञलाई राख्नुपर्ने महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले बताए । नेपालको संविधानको धारा ३९ को उपधारा ७ मा कुनै पनि बालबालिकालाई घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक, मानसिक वा अन्य कुनै पनि प्रकारको यातना दिन नपाइने उल्लेख छ । साथै बालबालिकासम्बन्धी ऐनले यातना दिने व्यक्तिलाई जरिबाना असुल गर्नेदेखि जेल पठाउनेसम्मको सजायको व्यवस्था गरेको छ ।

बालबालिका ऐन, २०७५ को दफा ७२ अनुसार बालबालिकालाई घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने, शारीरिक चोटपटक पु-याउनेलाई ७५ हजार रुपियाँ जरिबानादेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।