ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लिए सपथ



काठमाडौं । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार सपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ढकाललाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षसमेत रहेका ढकाल बैंकको हालै सम्पन्न १७औँ वार्षिक साधारणसभाबाट सञ्चालक समिति सदस्य र नव निर्वाचित सञ्चालक समितिको पहिलो बैठकबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए ।


सपथ ग्रहण समारोहमा अध्यक्ष ढकालले रेमिट्यान्स सेवा प्रदान गर्ने सानो कम्पनीको रुपमा स्थापना गरेको आइएमई नै नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति/निर्देशन अनुसार काम गर्दै जाँदा आजको ग्लोबल आइएमई बैंकको अवस्थासम्म आइपुगेको बताए ।

उनले ग्लोबल आइएमई बैंक मुलुकको सबैभन्दा ठूलो बैंक मात्र नभई एक सबल र सक्षम बैंक बन्न सफल भएको समेत उल्लेख गरे । ढकालले बैंकका नवनिर्वाचित सञ्चालकहरुलाई आइतबार नै शपथ गराएका छन् ।

संस्थापकबाट ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त चयन भएका थिए भने सर्वसाधारण शेयरधनीबाट कृष्णप्रसाद शर्मा, नारायणप्रसाद पौडेल र मदनलाल जोशी सञ्चालक समितिमा सर्वसम्मत निर्वाचित भएका थिए ।