स्वदेशी सम्भावनाको सदुपयोग गर्न अर्थमन्त्रीको आग्रह



त्रिशूली (नुवाकोट) । अर्थमन्त्री डा प्रकाशशरण महतले स्थानीय मौलिक पहिचान, संस्कृति र अवसरको उपयोगमार्फत मुलुकलाई आर्थिक रुपमा सुदृढ बनाउन सकिने बताए ।

नुवाकोटको लिखु गाउँपालिकास्थित ढिकुरे बजारमा आजदेखि सुरु भएको ‘प्रथम नुवाकोट खेलकुद तथा बृहत्त सांस्कृतिक महोत्सव–२०८०’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले स्वदेशको कला, संस्कृति, प्राकृतिक स्रोत तथा स्थानीय साधनको उपयोगमार्फत मुलुकको अर्थतन्त्र बलियो बनाउन सकिने बताएका हुन् ।


“रोजगारीको सृजनासहित शिक्षाको गुणस्तर र स्वास्थ्य सेवा सुधारको लागि यहाँकै शैली र सभ्यताको संरक्षण गर्नुपर्छ ।” उनले भने, “दोस्रो विश्व युद्धपछि जापानले जसरी आफ्नै मौलिक परम्परालाई जोगाएर विकासमा चमत्कार गर्यो, अब हामीले त्यस्तै शैली अपनाउनुपर्छ ।”

पछिल्लो समयमा मेला–महोत्सव स्थानीय उत्पादनको प्रवर्द्धन, प्रचारप्रसार र उपभोगमा केन्द्रित गराउनुको सट्टा भड्किलो हुँदै गएको भन्दै त्यसबाट सचेत रहन उनले ध्यानाकर्षण गराए । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले खेलकुद र संस्कृतिलाई लक्षित गर्दै सुरु भएको महोत्सवलाई आगामी दिनमा प्रदेशस्तरीय बनाएर सञ्चालन गर्न सहयोग पुर्याउने प्रतिबद्धता जनाए ।

मेला व्यवस्थापक हरिहर पाण्डेका अनुसार महोत्सवमा खेलकुद र संस्कृतिसँग सम्बन्धित सामग्रीको प्रदर्शनी तथा ब्यापारको लागी एक सय कक्ष राखिएको छ ।