आज राति नेपालबाट ‘मिथुन उल्का वर्षा’ देखिने



काठमाडौं । नेपालबाट बिहीबार राति मिथुन उल्का वर्षा देखिने भएको छ । बिहीबार ८ बजेदेखि शुक्रबार बिहान ५: ३० सम्म उल्का वर्षा देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ ।

यो वर्ष मंसिर १८ देखि सुरु भएको मिथुन उल्का वर्षा पुष १ गतेसम्म सक्रिय रहने बताइएको छ । उल्का वर्षाको अत्यधिक सक्रियता भने बिहीबार राति हुनेछ । 


यो उल्का वर्षा क्षुद्र ग्रह ३२०० फेथनले अन्तरिक्षमा छोडेका स–साना धुलोका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटर माथि जलेर देखिनेछ । उल्का वर्षको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षालाई ‘जमिनिड मिटियर सावर’ नाम दिइएको छ ।

उल्कावर्षा सामान्यत: मध्यरात पछि हेर्दा उत्तम हुने खगोलविद्हरुले जनाएका छन् । मौसमले साथ दिएमा उल्का वर्षा हेर्नेहरुका लागि यो सन् २०२३ कै उत्कृष्ट समय हुनेछ । उल्का वर्षा हेर्नलाई कुनै दुरबिन वा टेलिस्कोपको आवश्यकता पर्दैन ।