काठमाडौं । बाराको सिम्रौनगढमा गोली चल्दा एक जनाको ज्यान गएको छ । सिम्रौनगढ नगरपालिकामा आन्दोलनमा रहेका शिक्षक कर्मचारीले नगरप्रमुख चड्ने गाडी तोडफोड गर्दै जलाउने प्रयास गरेपछि प्रहरीले अश्रुग्याससहित गोली प्रहार गरेको थियो ।
प्रहरीका अनुसार गम्भीर घाइतेलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका छन् । मृतको परिचय खुलि नसकेको प्रहरीको भनाइ छ ।
बुधबार प्रशासकीय अधिकृत महेश मिश्र नगर प्रमुखको गाडी चढ़ेर कार्यलय जाने क्रममा आन्दोलनकारीले गाडीमा ढुंगा प्रहार गरेका थिए ।
ढुङ्गा प्रहारपछि आन्दोलनकारीहरूले गाडी जलाउने तथा नगरपालिकाको कार्यालयमा समेत ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको हो । गोली प्रहारबाट थप केहि घाइते भएका छन् । घटनाकबो थप विवरण आउन बाँकी रहेको छ ।
नगरपालिकामा विगत ५ महिनादेखि नगर अस्पताल बन्द छ भने एक साता देखि सामुदायिक विद्यालयहरूमा पठन पाठन पनि ठप्प छ । सो नगरपालिकामा शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीहरू १४ महिनायता सेवा सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रेका छन् । सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा विगत दुई महिनादेखि कर्मचारीहरूले तलब भत्ता पाउन सकेका छैनन् ।