गृहमन्त्री अस्पतालबाट डिस्चार्ज



काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । मुटुमा समस्या देखिएपछि गत मंगलबार (मंसिर १९ गते) शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी भर्ना भएका श्रेष्ठ आज डिस्चार्ज भएका हुन् ।

गत मंगलबार राति नै मन्त्री श्रेष्ठको मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरिएको थियो । एन्जियोप्लास्टी सर्जरीपछि केही दिन अस्पताल बसेका श्रेष्ठ आज डिस्चार्ज भएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।


चीनको भ्रमणमा रहेका बेला गत असोज ३० गते गृहमन्त्री श्रेष्ठलाई मुटुमा समस्या देखिएको थियो । त्यसपछि उनी चीनमै उपचार गरेर फर्किएका थिए ।