काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ । शनिबार राति ११ बजेर ५१ मिनेटमा फ्लाइ दुबईको जहाजबाट काठमाडौं आएका इजिप्टका नागरिक सरिफ मोहमद लासिमको साथबाट साढे ६ किलो सुन बरामद भएको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिएका छन् ।
प्रहरीले इजिप्टका नागरिकसँग संलग्न भएको आशंकामा थप दुई सुडानी नागरिकलाई पनि पक्राउ गरेको छ । उनलाई सुन भन्सारबाट पास भइ बाहिरिसकेपछि प्रहरीले पक्राउ गरेको हो ।
गत बिहीबार गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए । त्यस्तै रसुवा नाकाबाट आएको दुई किलो सुन पनि प्रहरीले केही दिनअघि बरामद गरेको थियो ।
प्रहरीले केही दिनअघि न्यूरोडस्थित एक सुन पसलमा छापा मारी ८ किलो सुनसहित पसल संचालकलाई पक्राउ गरेको थियो । पछिल्ला केही दिनमा निरन्तर सुन तस्करी भइरहेको प्रहरीले फेला पारेको छ ।