राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजबाट



काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक आजदेखि सुरु हुँदैछ । बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने महामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले सङ्गठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत हुने ‘भ्रष्ट व्यवस्थाको अन्त्य, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको स्थापना र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण’ सम्बन्धी राजनीतिक कार्यपत्र, महामन्त्री राजाराम बर्तौलाद्वारा प्रस्तुत हुने सङ्गठन विभागको प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत हुने आर्थिक प्रतिवेदन हिजो बसेको कार्य सम्पादन समितिको बैठकले परिमार्जन सहित अनुमोदन गरेको थियो ।


केन्द्रीय समिति बैठकबाट छलफल पश्चात् मोर्चा निर्माण र आन्दोलनको तयारी बारेमा महत्त्वपूर्ण निर्णय गर्ने महामन्त्री बर्तौलाले जानकारी दिए ।