पर्वत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश कसैको बिर्ता नभएको टिप्पणी गरेका छन् । पार्टीको ‘समृद्धिका लागि पदयात्रा’अन्तर्गत बिहीबार पर्वतमा आयोजित कार्यक्रमलाई समबोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले केही पहिचानवादीले एमालेको यात्रालाई कोशीमा अवरोध गर्ने सन्दर्भलाई जोड्दै एमाले कहाँ जान पाउने ? कहाँ जान नपाउने ? भन्ने सिकाउन आवश्यक नभएको बताउँदै भने, ‘पहिचानको नाममा, पहिचानवादका नाममा नेपाली जनतालाई फेरि अलमल्याउने, भ्रममा पार्ने, फाटो पार्ने, त्यस प्रकारका क्रियाकलाप हुँदैछन् कोशी प्रदेशमा । कोशी प्रदेशमा कोशी नाम राखियो, सबैको साझा नाम राखियो । एउटा पृष्ठभूमि विशेषको नाम राखिएन भनेर केही तत्वहरु वितण्डा मच्चाउनलाई ठूलो तत्व चाहिँदैन, धेरै ठूलो शक्ति चाहिँदैन ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नेपालमा शान्ति हुन नदिने र लोकतन्त्र हुन नदिने अनि अशान्ति मच्चाउने तत्वहरू लागिरहेका बताउँदै भनो, ‘कसैको बिर्ता होइन कुनै भूभाग नेपालको । प्रवेश गर्न दिन्न, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्नेखालका आतंककारी कुराहरु हामीले धेरै देखेका छौँ । यस्तो फुर्ती नलगाए हुन्छ ।’