काठमाडौं । नेपाली युवालाई रुसी सेनामा पठाउने गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार उनीहरुमध्ये ११ जना मंसिर १४ गते र एकजनालाई १८ गते पक्राउ परेका थिए । उनीहरुलाई बुधबार काठमाडौं प्रहरी परिसरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, शुभास लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता रावल, सन्तोष रोका र सन्तोष नेपाल रहेका छन् । त्यस्तै १८ गते सोमबार पक्राउ पर्नेमा द्रोण डाँगी रहेका छन् ।
उनीहरुको साथबाट विभिन्न व्यक्तिहरुको राहदानी, भिषा, रकम समेतका कागजातहरु बरामद भएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ ।
रुस पठाइएका अधिकांश भिजिट भिसामा युएई गएको र त्यहाँबाट रुस पठाइएको पाइएको छ। कतिपय भारतको बाटोबाट स्थलमार्ग हुँदै पनि रुस जानेहरू भेटिएको एसएसपी खत्रीले बताए। उनले अहिलेको पक्राउ परेकाहरूको संख्या प्रारम्भिक रूपमात्र भएको बताए। लहरो विस्तारै तानिँदै जाने उनको भनाइ छ।
पीडितहरूले ७ देखि १२ लाख रुपैयाँ तिरेर रुस जाने गरेको प्रहरीको भनाइ छ।
‘अहिले पक्राउ परेकाहरू संख्या प्रारम्भिक रूपमात्र हो। योभन्दा बिग्गर पिक्चर आउन बाँकी छ। प्रहरीले त्यसको अनुसन्धान गरिरहेको छ,’ एसएसपी खत्रीले पत्रकार सम्मेलनमा भने।
सरकारले रुसलाई कूटनीतिक नोट पठाउँदै नेपाली नागरिकलाई सेनामा भर्ना नगर्न र भर्ती भइसकेकालाई तत्काल नेपाल पठाउन अनुरोध गरेको छ ।
युक्रेनसँग जारी युद्ध लड्न रुसी सेनामा भर्ती भएका ६ जना नेपालीले ज्यान गुमाएको पुष्टि भइसकेको छ । एक नेपाली बन्धक रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।