गलेश्वर (म्याग्दी) । आयआर्जन हुने प्रशस्तै स्रोत र सम्भावना रहेर पनि सरोकारवालाको बेवास्ताका कारण म्याग्दीको सौरबोट ओझेलमा परेको छ । समुन्द्री सतहदेखि झण्डै दुई हजार दुई सय मिटरको उचाइमा अवस्थित म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित गाजने गाउँ नजिकै पर्ने सौरबोट लेकाली फलफूल, जडीबुटी र पर्यटनका लागि महत्त्वपूर्ण ठाउँ भएर पनि उपयोगविहीन बनेको हो ।
यहाँ वर्षौंदेखि खेती गर्न छाडेको एकसय रोपनीभन्दा धेरै जग्गा बाँझो छ । धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले महत्त्व बोकेको सौरबोट क्षेत्रमा डिम्बर, मैडल, हाडेकाफल, गोफ्लो, ऐँसेलु, जनमन्त्रो, चुत्रो, घँयरु, गुल्टुङलगायत लेकाली फलफूल प्रशस्तै मात्रामा पाइन्छन् ।
यहाँको वन क्षेत्रमा अहिलेको समयमा निगालोको टुसा र निगुरो तथा डौँडे पनि पाइने हुँदा व्यावसायिकरुपमा जङ्गली फलफूल र जडीबुटीको खेती गर्न सकिने स्थानीय रामबहादुर बानियाँले बताए । उनका अनुसार सौर प्रजातिका बोटबिरुवा धेरै भएकाले यस ठाउँको नाम सौरबोट राखिएको हो ।
यो ठाउँ पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको गैरसरकारी संस्था मिलन म्याग्दीका पूर्वध्यक्ष एवं स्थानीय बुद्धिजीवी शिव बानियाँले बताए । उनका अनुसार तरेली परेका डाँडाकाँडा र लेकाली बस्तीको सौन्दर्यको साथमा पवित्र कालीगण्डकी तथा रघुगङ्गा नदीको बहाव देखिने सौरबोटबाट मौसम खुल्दाको समयमा बिहान सूर्योदयसँगै धौलागिरि र अन्नपूर्ण रेञ्जका सबै हिमाल छर्लङ्ग देखिन्छन् ।
हरियाली जङ्गल, वनपाखा, वनफूल, विभिन्न प्रजातिका बोटबिरुवाको हरियालीमा सजिएको सौरबोटको प्रचारप्रसार गर्ने हो भने बेनी आएका पर्यटक यस क्षेत्रमा आउने बलियो सम्भावना रहेको बानियाँको भनाइ छ ।
स्थानीयवासीसमेत रहनुभएका पत्रकार प्रताप बानियाँका अनुसार सौरबोटमा जडीबुटीतर्फ भकिम्लो, सतुवा, जटामसी, टिम्मुर, चिराइतो, सिल्टीम्युर, गुराँसलगायत पाइनुका साथै यहाँको वनजङ्गल क्षेत्रमा मृग, चितुवा, बाघ, कालिज, चिर, तित्रो, चाखुरा, काँडेभ्याकुर र ढुकुरसहित वन्यजन्तु जनावर तथा चराचुरुङ्गी पाइन्छन् । विगतमा स्थानीयले खेती गर्न छाडेर अहिले बाँझो रहेको जग्गामा फलफूल, आलु, फापरलगायत लेकाली उत्पादन लगाउन सकिने उनले बताए ।
यहाँको जमिनमा गरा सुधार गरेर मकै, जौ, कोदो, कागुनोलगायत लेकाली उत्पादन दिने खेती गर्न सकिने बानियाँले बताए । उनका अनुसार चिसो हावापानीका साथै हिमालको सम्मुखमा पर्ने भएकाले सौरबोटमा व्यावसायिकरुपमा स्याउ खेतीसमेत गर्न सकिन्छ । पर्याप्त जमिन भएको सौरबोट क्षेत्रलाई पर्या–पर्यटनका माध्यमबाट विकास गर्न सकिने उत्तिकै सम्भावना रहेको उनले बताए ।
त्यसैगरी म्याग्दी सदरमुकाम बेनीदेखि नजिकको दूरीमा पर्ने सौरबोटमा वनभोज खाने ठाउँ बनाएर पनि रमाउन सकिन्छ । तत्कालीन बाइसेचौबिसे राज्य रहेका बेला रानीले कपाल कोर्ने डिलसमेत रहेको सौरबोट क्षेत्र मनोरम दृश्यावलोकनको उपयुक्त स्थलका रुपमा रहेको छ । कृषि उत्पादन, पर्यटन तथा आर्थिकलगायत क्षेत्रको सम्भावना बोकेको यस क्षेत्रको विकास र प्रवर्द्धन गर्नका लागि सम्बन्धित निकायले पनि ध्यान दिनु आवश्यक रहेको उनको भनाइ थियो ।