फिलिपिन्सको मिन्डानाओमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार गए राति साढे १० बजे ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।
यसको गहिराइ ३२ किलोमिटर थियो । अधिकारीहरूले भूकम्पबाट धेरै क्षति हुनसक्ने अनुमान गरेका छन् । भूकम्पपछि फिलिपिन्स र जापानमा सुनामीको चेतावनी जारी गरिएको छ ।
फिलिपिन्सको सिस्मोलोजी एजेन्सी फिवोलक्सका अनुसार सुनामीको लहर फिलिपिन्सको स्थानीय समयअनुसार मध्यरातमा आउन सक्ने र चार घण्टासम्म जारी रहने अनुमान गरिएको छ । जापानको सरकारी टेलिभिजन एनएचकेले भूकम्पपछि एक मिटर माथिसम्म समुद्री छाल आउन सक्ने चेतावनी जारी गरिएको जनाएको छ । यो चेतावनीपछि दक्षिण–पश्चिमी जापानी तटसम्मका वस्ती खाली गराउन सुरु गरिएको छ ।
सुनामीको चेतावनीपछि समुद्रमा रहेका डुंगाहरुलाई अर्को सूचना जारी नभएसम्मका लागि सतर्कता अपनाउन भनिएको छ । साथै सुरिगाओ डेल सुर र दावाओ ओरियन्टल प्रान्तका समुद्री किनारका वस्तीलाई तुरुन्त हटाएर प्रभावित क्षेत्रभन्दा टाढा रहन भनिएको छ । फिलिपिन्समा भूकम्प जानु सामान्य मानिन्छ ।