काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ एकमुष्ट रुपमा दिन सरकारसंग माग गरेको छ ।
पार्टी सभापति शेर बहादुर देउवा निवास धुम्वाराहीमा बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ एकै पटकमा दिन सरकारसंग माग गरेको हो ।
बैठकमा भूकम्प प्रभावितको अवस्थाका बारेमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र अर्थमन्त्री प्रकाशशरण महतले जानकारी गराउनुभएको थियो । बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले स्थायी आवास निर्माणका लागि दिने भनिएको रकम अझै पनि पीडितसमक्ष पुग्न नसकेको पाइएकाले एकमुष्ट रुपमा सबै रकम दिन माग गरिएको बताए । चिसो मौसममा अस्थायी आवास निर्माणका लागि किस्ताबन्दीमा दिने कुराहरुमा सहमति हुन नसक्ने उनले बताए ।
त्यस्तै बैठकमा देशमा भइरहेको गणतन्त्रविरोधी प्रदर्शनहरूबारे पनि बैठकमा छलफल भएको र कांग्रेसकै नेतृत्वमा संविधान जारी भएकाले सधै संविधानको पक्षमा रहेको विश्वकर्माले बताए । उनले संघीयता कार्यान्वयनका लागि आवश्यक कानूनहरु निर्माणको विषयमा पनि छलफल भएको जानकारी दिए ।
त्यस्तै बैठकपछि अर्थमन्त्री एवम् कांग्रेसका नेता डा प्रकाशशरण महतले मन्त्री हेरफेरको बारेमा प्रधानमन्त्रीबाट पनि केहि कुरा नआएकाले त्यसको कुनै सम्भावना नरहेको बताए । उनले विभिन्न बहानामा अहिलेको व्यवस्थामाथि प्रहार गर्ने र यसलाई कमजोर पार्ने प्रयास भएपनि देखिएका समस्याहरु समाधान गर्दै अघि बढ्नुपर्ने बताए । बैठकमा महासमितिको बैठकको तयारीबारे छलफल भएको नेताहरुले जनाएका छन् ।