बङ्गलादेशमा पछिल्लो १० महिनामा ३९७ जना महिला बलात्कृत भएको अधिकारवादी संस्था बङ्गलादेश महिला परिषद् (बिएमपी) ले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवसका अवसरमा बीएमपीले यस वर्षको जनवरीदेखि अक्टोबरसम्मको अवधिमा कम्तीमा दुई हजार ५७५ महिला तथा बालिका हिंसाको शिकार भएको जनाएको छ ।
बङ्गलादेशका १२ वटा राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित समाचारका आधारमा उक्त तथ्याङ्क सङ्कलन गरिएको संस्थाले जनाएको छ ।
सङ्गठनका अध्यक्ष फौजिया मुसलमानले राजधानी ढाकामा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै बलात्कारी र हत्यारालाई कडाभन्दा कडा सजायको माग गरेका छन् ।
यस अवधिमा ३१ जनाको बलात्कारका कारण मृत्यु भएको छ भने १२ जनाले आत्महत्या गरेका छन् । यसबाहेक २२१ जना महिला शारीरिक दुव्र्यवहारमा परेका छन् भने ४४३ जना विभिन्न कारणले मारिएका छन् ।
यो अवधिमा २१ वटा बालविवाह, १४२ वटा यौन हिंसा र ६१ वटा दाइजोका लागि यातना दिइएका घटनालाई अभिलेखीकरण गरिएको प्रतिवेदनमा यस अवधिमा कम्तीमा २३१ महिलाको रहस्यमय तरिकाले मृत्यु भएको उल्लेख छ ।
दाइजो पीडितमध्ये ४५ जनाको हत्या भएको छ । यसैबीच, तोकिएको समयावधिमा २०७ महिलाले आत्महत्या गरेका छन् ।