गण्डकी । नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल पोखरा इन्टरनेश्नल माउण्टेन क्रसकन्ट्री कम्पिटिसन’ पोखरामा सुरु भएको छ ।
प्रतिोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छन् सङ्, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संयुक्तरुपमा केहीबेरअघि यहाँ आयोजित एक कार्यक्रममा उद्घाटन गरे ।
त्यस अवसरमा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको प्रमुख पर्यटकीय सहर पोखरामा आयोजित प्रतियोगिताले नेपालको पर्यटनका साथै खेलकुद क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने बताए । यसअघि चिनियाँ दूतावासको सहयोगमा पोखरामा आयोजित ‘ड्रागन बोट फेस्टिबल’बाट पनि पोखराको प्रचार–प्रसारमा सकारात्मक भूमिका निर्वाह भएको उनले बताए ।
“पर्यटकीय हिसाबले गण्डकी प्रदेश निकै धनी प्रदेशको रुपमा रहेको र थुप्रै सम्भावनासमेत बोकेका कारण यस प्रदेशको पर्यटनलाई थप उचाइमा पु¥याउन चिनियाँ सरकारसँग सहकार्य गर्नसमेत हामी इच्छुक छौँ”, मुख्यमन्त्रीले भने ।
हालै चीन र नेपालबीचको कोरोला नाका सञ्चालन भएको, पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको स्तरोन्नति जारी रहेको र चिनियाँ सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालन भएपछि पोखरा पर्यटकीय पूर्वाधारका हिसाबले सशक्त सहर बनेको मुख्यमन्त्रीले बताए । नयाँ विमानस्थललबाट अन्तर्राष्ट्रिय उडान गर्दै यस क्षेत्रको पर्यटनलाई चलायमान बनाउन चिनियाँ सरकारबाट सहयोग हुने विश्वास उनले व्यक्त गरे ।