काठमाडौं । चुनावको मितिसमेत तोक्ने गरी तयार भएको निर्वाचनसम्बन्धी विधेयकबारे निर्वाचन आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘ब्रिफिङ’ गर्ने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारीहरूको टोलीले बुधबार गृहमन्त्रीसँग निर्वाचनसम्बन्धी विधेयकबारे छलफल गरेको थियो । आयोगले तयार पारेको मस्यौदालाई अघि बढाउन गृहमन्त्रायले सकारात्मक रुपमा लिएको र यसबारे प्रधानमन्त्रीसँग थप छलफल गर्न सुझाएको आयोगका एक पदाधिकारीले खबरहबलाई जानकारी दिए ।
आयोग स्रोतले भन्यो, ‘प्रस्तावित विधेयकमाथि आज गृहमन्त्रालयमा छलफल भयो । अब प्रधानमन्त्रीसँग थप छलफल गर्ने कुरा भएको छ । प्रधानमन्त्रीले समय दिएपछि भोलि वा पर्सि यसबारे थप छलफल हुन्छ ।’
निर्वाचन सम्बन्धी कानूनहरूको मस्यौदा निर्वाचन आयोगले गर्ने संवैधानिक व्यवस्था छ । आयोगले तयार पारेको विधेयक गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयमार्फत् संसदमा पेश हुन्छ ।