अर्थतन्त्र चलायमान बनाउन व्यवसायीको भूमिका महत्त्वपूर्णः राष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । ४६औं इफाप्का सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले हरेक मुलुकको आर्थिक विकासमा व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।

जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्नेहरूले विशेष सर्तकता अपनाउन जरुरी रहेको समेत उनले बताए ।


अहिलेको विश्वलाई हेर्ने हो भने पनि भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य विकास गरेका मुलुकहरूले नै आर्थिक प्रगति गरेको भन्दै उनले भौतिक पूर्वाधारको विकाससँगै हामीले यससँग सम्बन्धित अन्य पक्षहरूलाई पनि विशेष ध्यान दिनुपर्ने समय आएको बताए ।

राष्ट्रपति पौडेलले हालै नेपालको भ्रमण गरेका संयुक्त राष्ट्र संघका महासचिवले पनि जलवायु परिवर्तनको अजेण्डालाई उच्च महत्त्व दिएको प्रसङ्ग स्मरण गराउँदै कार्वन उत्सर्जनमा कटौती गरी प्रकृति सुहाउँदा पूर्वाधार निर्माणमा जुट्न सबैलाई आग्रह गरे ।