दश दिनदेखि भत्किएको सुरुङमा फसेका ४१ भारतीय कामदारलाई मङ्गलबार पहिलोपटक क्यामेरामा जीवित देखिएको छ । उद्धारकर्मीहरूले उनीहरूलाई सुरुङबाट बाहिर निकाल्नका लागि नयाँ बाटो बनाउने प्रयास गरिरहेका छन् ।
प्रस्तावित मार्गमध्ये एउटा करिब आधा किलोमिटर लामो छ । थकित र चिन्तित देखिएका तथा बाक्लो दाह्री भएका पुरुषहरूलाई उद्धारकर्मीहरूले अक्सिजन, खाना र पानी पठाइने पातलो पाइपबाट तल पठाइएको इन्डोस्कोपिक क्यामेरामा हेरिरहेको देख्न सकिन्छ ।
सरकाले जारी गरेको भिडियोमा देखाइएको छ, “हामी तपाईंहरूलाई सुरक्षितरूपमा बाहिर ल्याउने छौ, चिन्ता नगर्नुहोस्”, उद्धारकर्मीहरूले क्यामेरा नजिक एकत्रित भएका सुरुङभित्र फसेका हेलमेट लगाएका मानिसहरूलाई भनेको सुन्न सकिन्छ ।
सुरुङको एक भाग भत्किएपछि एक्सक्याभेटरहरूले गत कात्तिक २६ गतेदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङबाट माटो, कङ्क्रिट र भग्नावेशष निकालिरहेका छन् ।
निरन्तर खसेको भग्नावशेषका साथै महत्वपूर्ण भारी ड्रिलिङ मेसिन बारम्बार बिग्रँदा वायुसेनाले नयाँ उपकरणमा दुई पटक एयरलिफ्ट गर्नुपर्दा उद्धार प्रयास सुस्त भएको छ । क्यामेरा सुरु हुनुअघि उद्धारकर्मीहरूले रेडियो प्रयोग गरेर भित्रका मानिसहरूसँग कुराकानी गरिरहेका थिए ।
“सबै कामदार पूर्णतया सुरक्षित छन्”, उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले भने,“उनीहरूलाई सुरक्षितरूपमा छिट्टै बाहिर निकाल्न हामीले पूरा प्रयास गरिरहेका छौँ ।” उनले सङ्कटका बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको बताए । प्रधानमन्त्री मोदीले कामदारलाई बाहिर निकाल्नु राज्य सरकारको ‘उच्च प्राथमिकता’ हुनुपर्ने बताएको उनले जनकारी दिए ।