माओवादी केन्द्र र समाजवादीबीचको पार्टी एकता प्रक्रियालाई गति दिने निर्णय



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रियालाई थप गति दिइने भएको छ । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको दुई दलको वार्ता टोलीको संयुक्त बैठकले एकता प्रक्रियालाई अगाडि बढाउने सहमति गरेका हुन् ।

बैठकको सुरुमा एकता वार्ता समितिको विगतको गतिविधिबारे रिपोर्टिङ गरिएको संयुक्तरुपमा जारी विज्ञप्तिमा भनिएको छ । बैठकमा पार्टी एकताका लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने भएको छ ।


समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयमा छलफल गरी सहमतिका आधारमा अगाडि बढ्ने सहमति गरेका छन् । त्यस्तै, पार्टीको विधान, नाम, सङ्गठनात्मक संरचना, चुनाव चिन्हलगायतका विषयमा एकता समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय भएको छ ।

बैठकपछि माओवादी केन्द्रका तर्फबाट वार्ता समितिका संयोजक कृष्णबहादुर महरा र नेपाल समाजवादी पार्टीका संयोजक गङ्गानारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गरेका छन् । बैठकमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, नेपाल समाजवादी पार्टीका नेताहरु दुर्गा सोवलगायतको उपस्थिति थियो ।

माओवादी केन्द्र वार्ता समिति संयोजक कृष्णबहादुर महरा र नेपाल समाजवादी पार्टी वार्ता समिति संयोजक गंगानारायण श्रेष्ठले बैठकपछि जारी गरेको विज्ञप्ति :

आज मिति २०८० मङसिर ३ गते नेकपा (माओवादी केन्द्र) र ने.स.पा. बिचको पार्टी एकता वार्ता समितिको बैठक बस्यो । बैठकको प्रारम्भमा सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै एकता वार्ता समितिको विगतको गतिविधिबारे रिपोर्टिङ भयो । बैठकमा पार्टी एकताको लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने साथै उक्त पार्टी एकता संयोजन समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिह्न लगायतका विषयहरुमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय गरियो ।