‘अख्तियार एक्लैले भ्रष्टाचार रोक्न सक्दैन’ -आयुक्त सिलवाल



बागलुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले आयोग एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताएका छन् । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धमा आज यहाँ आयोजित अन्तरक्रियामा उनले सरोकार भएका सबै पक्षको समन्वय र सहकार्यमा मात्र भ्रष्टाचार न्यूनीकरण भएर जाने उल्लेख गरे ।

“अख्तियार मात्रैको जिम्मामा छाडिदिएर भ्रष्टाचार रोकिन्न, यसमा राज्यका निकाय, सङ्घसंस्था, नागरिक समाज, सञ्चारजगत्लगायतको समन्वयकारी भूमिका चाहिन्छ”, उनले भने, “भ्रष्टाचार निवारणमा को ठूलो को सानो भन्ने हुँदैन सबै निकायले आआफ्नो ढङ्गले काम गर्नुपर्छ ।”


भ्रष्टाचार पनि सानो÷ठूलो नहुने भन्दै आयुक्त सिलवालले सबै घटनामा आयोगले समान व्यवहार गर्ने बताए। उनले भ्रष्टाचारको मूल नरोकिएसम्म तलको समस्या हल नहुने भन्दै जत्रोसुकै ओहदा र शक्तिमा भएको व्यक्ति भए पनि भ्रष्टाचारमा कसुर ठहरिए कारबाही गरेरै छाडिने प्रतिबद्धता जनाए । उनले आयोगका पदाधिकारीले कुनै राजनीतिक विचारसँग ओतप्रोत भएर घटनाको अनुसन्धान नगर्ने स्पष्ट पारे ।